नेकपा सचिवालय बैठक दिउँसो बस्दै

होमल्याण्ड खबर

२०७७ मंसिर २० गते, शनिबार ११:१२ मा प्रकाशित

काठमाडाैं: नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठक शनिबार दिउँसाे बस्दैछ । आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकअघि सहमति जुटाउने प्रयास भइरहेको छ। जसका लागि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरुले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरेका छन्।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति कायम गराउन अनौपचारिक माध्यमबाट विभिन्न प्रयास भइरहेको नेकपाका एक स्थायी समिति सदस्यले बताए। “प्रयासहरु जारी छन्, साढे १२ बजेसम्म केही हुन्छ कि भन्ने सकारात्मक संकेत मिलेको छ,” ओली र दाहाललाई मिलाउन लागि परेका ती नेताले भने।

नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले पनि सचिवालय बैठकअघि  सहमति कायम गर्न प्रयास जारी रहेको बताए। नेकपाका अध्यक्षद्वय ओली र दाहालबीचको विवादले नेकपाभित्र संकट उत्पन्न भएको छ। जसकारण एकले अर्कोलाई सचिवालय बैठकमै लिखित रुपमा आरोप प्रत्यारोप गरेपछि दुईबीच झण्डै एक महीनादेखि प्रत्यक्ष संवाद भएको छैन।

आज पनि बिहानैदेखि ओलीले आफू निकटका नेताहरुसंग छलफल गरिरहेका छन्। नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेल, सुवास नेम्वाङ बिहानै वालुवाटार पुगिसकेका छन्। आज तय भएको सचिवालय बैठक स्थगित गरेर सहमतिका लागि थप गृहकार्य गर्न ओली पक्षीय नेताहरुले आग्रह गरेका छन्।