सचिवालय बैठक: नेकपा सहमति जुटाउन अझै असफल

होमल्याण्ड खबर

२०७७ मंसिर २० गते, शनिबार १७:२५ मा प्रकाशित

काठमाडौं । सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टीभित्रको विवाद हल गर्न असफल भएको छ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा लगिने भएको छ।

सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो। स्थायी समितिको बैठक भोलि दिउसो १ बजेका लागि बोलाइएको छ।

आजको सचिवालय बैठकले आइतबारका लागि तय गरिएको स्थायी कमिटी बैठकमा दुवै अध्यक्षको प्रस्ताव र पार्टीको संकट निवारणका लागि पेस भएका सबै प्रतिवेदन लगिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आइतबार एकबजे स्थायी कमिटीको बैठक धुम्बाराहीमा बस्ने । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन।

यो सँगै अब दुई अध्यक्षका प्रतिवदेनमाथि स्थायी समितिमा छलफल हुने छ।

अहिलेसम्म दुवै अध्यक्षको प्रस्ताव फिर्ता हुनुपर्ने अडानमा रहे पनि शनिबारको बैठकले दुबै प्रस्तावलाई स्थायी कमिटीमा लैजाने निर्णय गर्नुले नेकपामा थप विवाद चर्किने देखिएको छ।