धुम्बाराहीमा कडा पारियाे बैठक लक्षित सुरक्षा व्यवस्था, पत्रकारलाई समेत राेक

होमल्याण्ड खबर

२०७७ मंसिर २१ गते, आईतवार १३:४८ मा प्रकाशित

काठमाडाैं: सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को स्थायी समिति बैठक धुम्बाराहिमा शुरू भएकाे छ ।  बैठक लक्षित गर्दै पार्टी कार्यालय धुम्बाराही क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हाे ।

धुम्बाराहीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका डीएसपीको कमाण्डमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सम्बन्धित नेताबाहेक सञ्चारकर्मीलाई समेत पार्टी कार्यालयमा प्रवेश दिइएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको असन्तुष्टिका बीच आइतबार पार्टी कार्यालयमा नेकपा स्थायी समिति बैठक बस्न लागेको हो ।

बैठकमा यसअघि अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डले ल्याएको प्रस्ताव पेश भइ छलफलमा जाने बताइएको छ । तर, पार्टी अध्यक्ष ओली स्थायी समिति बैठकको विपक्षमा रहेकाले आजको बैठक प्रभावित हुने सम्भावना पनि उत्तिकै छ ।

शनिबार बसेको सचिवालय बैठकले अध्यक्षद्वय ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव स्थायी कमिटीमा छलफल गर्ने निर्णय गरेको थियो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टीको संकट निवारण सम्बन्धमा अहिलेसम्म सचिवालयमा प्रस्तुत प्रस्तावहरु स्थायी कमिटीको बैठकमा पेस गरी सार्थक निष्कर्षका निम्ति छलफल अगाडि बढाइने छ ।