४ मंसिर २०८१, मंगलवार
काठमाडौं । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड १९)कै महामारीबीच सरकारविरुद्ध ‘सडक संघर्ष’ चर्काउने भएको छ ।
गत वर्षको फागुनमा सार्वजनिक कार्यक्रम नगर्न कांग्रेसले आन्तरिक निर्देशन जारी गरेको थियो । तर, मंसिर १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरीको ‘गिरफ्तारी’मा परेपछि कांग्रेस महामारीकै बीच सडक संघर्ष चर्काउने तयारीमा जुटेको हो ।
मंसिर १७ गते तनहुँको दमौलीमा पूर्वनिर्धारित कार्यक्रमअनुसार पुल उद्घाटन गर्न जाँदा कांग्रेस वरिष्ठ नेता पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
सत्तारुढ नेकपाले समेत पुल उद्घाटनमा अवरोध गरेपछि कांग्रेसले ‘सरकारका प्रवृत्ति’विरुद्ध आन्दोलन गर्ने घोषणा गरेको हो ।
कांग्रेसले सरकार सर्वसत्तावादको बाटोमा गएको, भ्रष्टाचार बढेको र कोरोना महामारी नियन्त्रण गर्न सरकार असफल भएको लगायत आरोप लगाएको छ ।
‘सरकारकै प्रवृत्ति’का कारण देशका विभिन्न ठाउँमा राजावादीहरु सक्रिय भएको भन्दै कांग्रेसले लोकतान्त्रिक गणतन्त्रमाथि नै खतरा उत्पन्न सक्ने पनि बताउँदै आएको छ । ‘सरकारका प्रवृत्ति’विरुद्ध गर्न लागिएको आन्दोलनअन्तर्गत कांग्रेसले भदौ २९ गते (सोमबार) देशभर विरोध प्रदर्शन गर्दै छ ।
विरोध प्रदर्शन सफल बनाउन कांग्रेसले केन्द्रीय कार्यालयबाटै प्रतिनिधिहरु खटाउने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरु पनि विरोध प्रदर्शन सफल पार्न परिचालित हुने भएका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा विरोध प्रदर्शन सफल पार्न मकवानपुर जाने भएका छन् । उनले हेटौंमा हुने कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
यस्तै, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, कोषाध्यक्ष सितादेवी यादवले ललितपुरको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
अन्य नेताहरुमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महोत्तरी, चित्रलेखा यादवले सप्तरी, रामशरण महत चितवन, अर्जुननरसिंह केसी पोखराले पोखराका कार्यक्रममा सम्बोधन गर्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
केन्द्रीय सदस्यहरुको हकमा भने जिल्ला सभापतिले माग गरेको ठाउँमा जाने गरी तय भएको छ ।
केन्द्रीय सदस्य गगनकुमार थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर र एनपी साउँद अछाम जाने कार्यक्रम छ ।
कांग्रेसले विरोध प्रदर्शनका लागि केन्द्रबाटै १० वटा नाराहरु समेत तय गरेको छ ।
कांग्रेसले विरोध प्रदर्शनका लागि भन्दै ‘बढ्यो महिला हिंसा र बलात्कार– अकर्मण्य भो ओली सरकार, चारैतिर भ्रष्टाचार– जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा– नेकपा सत्ताको जितहारमा, औषधि छैन, मल छैन– सत्ताको लडाईँ लाज छैन,’ जस्ता नाराहरु तय गरेको छ ।