नेविसंघले देशभर सिठी जुलुस गर्ने, सरकारविरुद्धको प्रदर्शन सशक्त बनाउने

होमल्याण्ड खबर

२०७७ मंसिर २६ गते, शुक्रबार १९:४७ मा प्रकाशित

काठमाडौं । कांग्रेसको भ्रातृ संगठनले नेपाल विद्यार्थी संघले मंसिर २८ गते देशभर सिठी जुलुस गर्ने भएको छ । केन्द्रिय कार्यसमिति बैठकले सरकारविरुद्ध देशभर कांग्रेसको प्रदर्शन अघिल्लो दिन सिठी जुलुस गर्ने निर्णय गरेको हो ।

बैठकको निर्णय सार्वजनिक गर्दै जारी गरिएको विज्ञप्तीमा २७ गते काठमाडौंको चाबहिलमा रहेको पशुपति क्याम्पसमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्ने, २८ गते देशभर सिठी जुलुस प्रदर्शन गर्ने र २९ गते नेपाली कांग्रेसको प्रदर्शनमा पूरा साथ सहयोगका साथ प्रदर्शन सफल बनाउने उल्लेख छ ।

यसका लागि नेविसंघले सातै प्रदेशमा आफ्नो नेताहरुलाई पनि खटाउने निर्णय गरेको छ । प्रदर्शनका लागि युवाहरुलाई परिचालन गर्न प्रदेश एकमा उपाध्यक्ष तुलसा पन्त, प्रदेश नम्वर २ मा महामन्त्री वलदेव तिमल्सिना, बाग्मति प्रदेशमा महामन्त्री मनोज वैद्य, गण्डकी प्रदेशमा महामन्त्री दीपक भट्टराई, लूम्बिनी प्रदेशमा उपाध्यक्ष मुक्ति राज पौडेल, कर्णाली प्रदेशमा महामन्त्री उर्मिल थपलिया, सुदुरपश्चिम प्रदेशमा महामन्त्री महेश्वरी कुँवरलाई खटाइएको नेविसंघले जनाएको छ ।

कांग्रेसले २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने भएपछि नेविसंघले त्यही अनुसार आफ्ना नेताहरुलाई परिचालन गरेको हो ।