४ मंसिर २०८१, मंगलवार
काठमाडाैं: संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आज देखि सरकार विरुद्ध सडकमा संघर्षमा छ। कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार एक अपिल जारी गर्दै सरकारविरुद्ध सडक संघर्षमा उत्रन आम नागरिकलाई आग्रह गरेका छन्। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई गत साता तनहुँमा पुल उद्घाटन गर्न जाँदा दुव्र्यवहार भएपछि कांग्रेस सरकार विरुद्ध क्रुद्ध बनेको छ।
देउवाले जारी गरेको अपिलमा कोरोना संक्रमण फैलिन नदिन भौतिक दूरी कायम गर्दै मास्क लगाएर प्रदर्शनमा सहभागी हुन आग्रह गरिएको छ ।
सरकारले सर्वसत्तावादी चरित्र देखाएको, भ्रष्टाचार बढेको र प्रधानमन्त्री स्वयं भ्रष्टाचारीको संरक्षणमा लागिपरेको आरोप कांग्रेसको छ। त्यस्तै कोरोना संक्रमण नियन्त्रण र न्यूनीकरणमा बेवास्ता गरेको, जनताको स्वास्थ्य सुरक्षामाथि खेलबाड गरेको आरोप पनि सरकारविरुद्ध लगाएको छ।
सभापति देउवाले सोमबारको सांकेतिक विरोधपछि सडकदेखि संसद्सम्म सरकारलाई तीव्र दबाब दिने बताएका छन्।‘प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन,संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आयो, तर वर्तमान सरकारले एकातर्फ त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गर्यो भने अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ देउवाले अपिलमा भनेका छन्, ‘यसकारण नेपाली जनतामा सरकारप्रति व्यापक वितृष्णा फैलिएको छ, यो अहिलेको अवस्थाप्रतिको वितृष्णा हो।’
पार्टी सभापति शेरबहादुर देउवाले हेटौँडामा, वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौंमा, युवा नेता गगन थापाले कैलालीमा हुने विरोध प्रदर्शनलाई संवोधन गर्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
नेता कृष्णप्रसाद सिटौला भने कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका छन्। सरकार विरुद्ध हुने आजको प्रदर्शनमा दश लाख नागरिक सहभागी हुने अनुमान कांग्रेसले गरेको छ।