आज नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेशबारे छलफल हुने

होमल्याण्ड खबर

२०७७ पुष १ गते, बुधबार १०:१९ मा प्रकाशित

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी केपी शर्मा ओलीले मंगलबार (हिजो) ल्याएका संवैधानिक परिषदसम्बन्धी अध्यादेशबारे छलफल हुने बताइएको छ ।

गत आइतबार बसेको स्थायी कमिटी बैठक नेता कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको थियो । यसैबीच आजको बैठकमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पेश गरेका छुट्टाछुट्टै प्रतिवेदनमा छलफल गर्ने एजेण्डा थियो ।

तर, आकस्मिक रुपमा अध्यादेश जारी भएपछि स्थायी कमिटीमा यो विषय प्रमुख बनेको छ । उक्त अध्यादेशले सत्तारुढ नेकपाभित्र मात्रै नभई पूरै राजनीतिक बृत्तमै तरंग ल्याएको छ ।

ओलीले पार्टी र मन्त्रीपरिषदमा समेत छलफल नगरी अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दलका नेताहरुले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने बताइरहेका छन् ।

यसैबीच सत्तारुढ नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायत पाँच जना सचिवालय सदस्यले पनि ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने निश्कर्ष निकालेका छन् ।