प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरूसँग छलफल सुरु गरे

होमल्याण्ड खबर

२०७७ पुष ६ गते, सोमबार १०:५६ मा प्रकाशित

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभाका आफूनिकट सदस्यहरूसँग छलफल सुरु गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष समेत रहेका ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा विघटित प्रतिनिधिसभाका आफूनिकट सदस्यसँग छलफल सुरु गरेको केन्द्रीय सदस्य कृष्ण राईले जानकारी दिए ।

उनले छलफलका लागि काठमाडौंमा उपलब्ध सबै निवर्तमान सदस्य,राष्ट्रियसभा सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई बालुवाटारमा बोलाएका थिए।

प्रधानमन्त्री ओलीले भेलामा प्रतिनिधि सभा विघटन गर्नुको कारणका विषयमा ब्रिफिङ गर्ने बुझिएको छ। यस्तै,संसद विघटन पछिको राजनीतिक परिस्थित, पार्टीको अवस्थाका बारेमा छलफल हुने बताइएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको स्थायी कमिटीमा आवद्ध बहुमत सदस्यहरूको बैठकले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णयगरेपछि भावी रणनीति तय गर्न ओलीले आफू निकट नेताहरुलाई छलफलका लागि बोलाएका हुन् । यद्यपी यसको अन्तिम निर्णय भने भोलि बस्ने केन्द्रीय कमिटी बैठकले गर्ने छ ।

लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको नेकपा करीव करीव फुटको संघारमा पुगेको आँकलन गरिएको छ । भेलामा पार्टी फुट्ने तहसम्म पुगेकाले नयाँ पार्टी बनाउनु पर्ने अवस्थाका विषयमा समेत छलफल हुने बुझिएको छ ।