४ मंसिर २०८१, मंगलवार
प्रतिनिधिसभा विघटनविरूद्ध नेकपाको दाहाल-नेपाल समूहले माइतीघर मण्डलमा प्रदर्शन गरेको छन्। शुक्रबार बिहान पौने १० बजेबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसहित सो समूहका केन्द्रीय सदस्य र विघटित प्रतिनिधिसभाका सदस्यहरूले प्रदर्शन गरेका हुन् ।अध्यक्षद्वय प्रचण्ड र नेपालसहित नेताहरू झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले प्रतिनिधिसभा भंग नभएको भन्दै छातीमा ‘हामी यहाँ छौं’ लेखेर टाँसेका थिए । प्रदर्शनमा सहभागीहरूले ‘प्रतिनिधि सभा विघटन खारेज गर’, ‘संवैधानिक कू मान्दैनौं’जस्ता नारा पनि लगाइएको छ ।
माइतीघरको प्रदर्शनपछि बहुमत पक्ष एक ठाउँमा रहेको जनाउ दिन निर्वाचन आयोग जान लागिएको नेता शिव कुमार मण्डलले जानकारी दिए । दाहाल-नेपाल समूहका ११४ सांसदसहित ३ सयभन्दा बढी केन्द्रीय सदस्य माइतीघर मण्डलामा भेला भएर एकसाथ निर्वाचन आयोग जान लागेको उनले बताए । ‘हाम्रो पक्षमा बहुमत ११४ सदस्य र बहुमत सदस्य भएकोमा निर्वाचन आयोगलाई आशंका नहोस् भन्ने हाम्रो मनसाय हो, आधिकारिकताको छिनोफानो गर्न उसलाई सहज होस् भनेर हामी बहुमत केन्द्रीय सदस्य आयोगमा पुग्न लागेका हौँ,’ मण्डलले भने ।
एकीकरणको ३२ महिनामा विभाजनमा फसेको नेकपामा आफू आधिकारिक रहेको दुबै पक्षले दाबी गरिरहेका छन् । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि बसिरहेका दुबै समूहको समानन्तर बैठकले एक अर्काविरूद्धका निर्णय गरिरहेका छन् । दुवै समूहले बिहीबार दोस्रो पटक छुट्टा छुट्टै केन्द्रीय कमिटी बैठक गरेर जिम्मेवारी हेरफेर तथा कारबाही गरेका छन् । यसअघि नै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गर्दै साधारण सदस्यबाट हटाएको दाहाल-नेपाल समूहले ओली सरकारविरूद्ध आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेको छ । उसले पुस १४ मा प्रदर्शनको घोषणा गरिसकेको छ ।