प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभा बैठकमा सम्बोधन गर्ने

होमल्याण्ड खबर

२०७७ पुष २६ गते, आईतवार ११:१४ मा प्रकाशित

आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री ओलीले १ बजेपछि समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । साथै आजको बैठकमा ‘थारू आयोगको वार्षिक प्रतिवेदन २०६६–७७’ पेश गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७६–७७’ पेश गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । उनले वैशाखमा चुनावसमेत तय गरेका छन्।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै नेकपाकै प्रचण्ड–नेपाल पक्ष, कांग्रेस, र जनता समाजवादीलगायत दलले दिनहुँजसो विरोध प्रर्दशन गरिरहेका छन्। उनीहरुले प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने माग राखेका छन् ।

प्रधानमन्त्री ओलीले भने विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताइरहेका छन्।