४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकता गर्दा विचार पुर्याएरै गरेको बताउनुभएको छ ।
काठमाडौंको प्रज्ञाप्रतिष्ठान कमलादीमा आज भइरहेको नेकपाको दाहाल–नेपाल समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै दाहालले आफूहरुले विचारलाई ध्यान दिएर नै पार्टी एकता गरेको बताउनुभएको हो ।
उहाँले पार्टी एकता गर्दा मार्कसवाद–लेलिनवाद पार्टीको सिद्धान्त हुने कुरा एकता गर्दा स्पष्टसँग लेखेर हस्ताक्षर गरेको बताउनुभयो । जनताको वहुदलीय जनवादसहित स्वर्गीय नेता मदन भण्डारीको विचारलाई पनि सम्झौतामा उच्च मूल्यांकन गरिएको उहाँको भनाइ छ ।
त्यसैगरी माओवादी आन्दोलन र २१ औँ शताब्दीमा जनवाद सम्बन्धी अवधारणको पनि उच्च मूल्यांकन गरिएको उहाँले बताउनुभयो । पार्टी एकता गर्दा देशमा माओवादी आन्दोलनले खेलेको भूमिका महत्वपूर्ण भएको भन्ने कुरामा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि हस्ताक्षर गर्नुभएको उहाँले स्पष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले वैधानिक नेकपा पार्टी आफूहरुको भएको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुनै पनि पार्टीमा व्यक्ति सर्वेसर्वा हुँदैन । बहुमतको निर्णय नै पार्टीको निर्णय हुन्छ । हाम्रो पार्टीको केन्द्रीय समितिको बबरमहलमा बसेको बैठकमा ७० प्रतिशत बढीको उपस्थितिको थियो । ७० प्रतिशतको निर्णय पार्टीको निर्णय हुन्छ । त्यसैले हामी आधिकारिक हौँ भन्ने कुरा कहीँ पनि प्रश्न गर्ने र शंका गर्ने ठाउँ छैन ।’