प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले आज देशभरका वडामा प्रदर्शन गर्दै

होमल्याण्ड खबर

२०७७ माघ ८ गते, बिहीबार ०८:३९ मा प्रकाशित

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज (बिहीबार) देशभरका वडाबाट प्रदर्शन र सभा गर्ने भएको छ । दोस्रो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वटा वडामा विरोध प्रदर्शन गर्न लागेको हो ।

कांग्रेसले प्रतिनिधिसभा विघटनको कार्यलाई असंवैधानिक र अलोकतान्त्रिक कार्य भन्दै आएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै विरोध प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् । वडाको प्रदर्शनलाई पनि सक्रिय सहभागिता जनाएर सफल बनाउन सभापति देउवाले अपिल गरेका हुन् ।

कांग्रेसले यसअघि पुस १३ गते मुलुकका १६५ निर्वाचन क्षेत्र, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्र र माघ ३ गते ७५३ वटा स्थानीय तहामा विरोध प्रदर्शन र सभा गरिरहेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि कांग्रेस आन्दोलनमा उत्रिएको हो ।