आज दाहाल–नेपाल समूहले काठमाडौंमा विरोध प्रदर्शन गर्ने

होमल्याण्ड खबर

२०७७ माघ ९ गते, शुक्रबार ०८:४० मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने भएको छ ।

 

बिहान ११ बजे काठमाडौं र ललितपुरका बिभिन्न ९ स्थानबाट जुलुस निकाल्दै छ । त्यसका लागि पौने ११ बजे नै आ–आफ्नो आर्कमा जम्मा भइसक्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिइएको छ ।

समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा हुने आजकाे प्रदर्शनमा १ लाखभन्दा बढी कार्यकर्ता उतार्ने सो समूहले दाबी गरेको छ । माइतीघरको जुलुशमा नेताहरु गणेश शाह, गिरिराजमणि पोखरेल, मातृका यादव, लीलामणि पोखरेल, हरिबोल गजुरेल, पेशल खतिवडा लगायतका नेताहरु रहने छन् ।

डिल्लीबजार चारखालको जुलुसको नेतृत्व वर्षमान पुन र वेदुराम भुसालले गर्ने छन् । लैनचौरको जुलुसको नेतृत्व भीम रावल, शक्तिबहादुर बस्नेत, नन्दकुमार प्रसाईंलगायतका नेताहरुले गर्नेछन् ।

त्रिपुरेश्वरको जुलसमा नेताहरु देवेन्द्र पौडेल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे तथा कुपण्डोलको जुलुसमा कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त, नन्दकुमार थापालगायतका नेताहरु रहने संघर्ष समितिले जनाएको छ ।

प्रदर्शनी मार्गको जुलुसमा घनश्याम भुसाल र जनार्दन शर्मा रहने छन् भने शान्तिवाटीकाबाट सुरु हुने मजदुरको जुलुसमा नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई रहने छन् ।

देव गुरुङ, हितमान शाक्य, रामकुमारी झाँक्री र लेखनाथ न्यौपानेले त्रिचन्द्र कलेज अगाडिबाट निस्किने जुलुसको नेतृत्व गर्ने छन् ।

वाल्मीकि क्याम्पसको जुलुसमा अमृत बोहोरा, मुकुन्द न्यौपाने, विष्णुपुकार श्रेष्ठ रहने छन् ।

संघर्ष समितिका प्रवक्ता योगेश भट्टराईका अनुसार ९-१० ठाउँबाट निट्ठकेकाे जुलुस आएर सभामा परिणत हुन छ । सबै ठाउँबाट जम्मा भएको जुलुस रत्नपार्कमा पुगेर आमसभामा परिणत हुने र सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल ,नेता झलनाथ खनाललगायतले सम्बोधन  गर्ने जनाइएको छ । प्रचण्ड–नेपाल समूहले आजको प्रदर्शन शान्तिपूर्ण हुने जनाएको छ ।

विरोध प्रदर्शनलाई व्यवस्थित गर्न युवा, विद्यार्थी, मजदुर र खेलकुद मोर्चाका दुई हजार स्वयंसेवक परिचालन गरिने सङ्घर्ष समितिका संयोजक श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी आमनिर्वाचनको मिति घोषणा गरेपछि प्रचण्ड–नेपाल समूह आन्दोलनरत छ ।