४ मंसिर २०८१, मंगलवार
वाग्मती प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ ।प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले दिउँसो १ बजेका लागि बैठक बोलाएका छन् । आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्धको अविश्वासको प्रस्ताव टेबल हुने कार्यसूची रहेको प्रदेश संसद सचिवालयले जनाएको छ । नेकपामा प्रचण्ड–माधव समूहका सांसदहरुले बैठक नबसे धर्ना दिने चेतावनी दिएपछि सभामुख श्रेष्ठले गएराति आज दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
यसअघि नेपाली कांग्रेसलगायत दलका सांसदले आज बिहान ११ बजे बैठक संचालन गर्न आग्रह गरेको भए पनि थप छलफल गर्नुपर्ने भन्दै सभामुख श्रेष्ठ पछि हट्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली समूहका मुख्यमन्त्री पौडेलविरुद्ध प्रचण्ड–नेपाल समूहका प्रदेश सांसदहरुले गएको पुस १० गते ४५ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । प्रदेशसभामा कांग्रेसका २२, विवेकशील साझाका ३ जना, राप्रपाका २ जना, नेपाल मजदुर किसान पार्टीका २ जना र स्वतन्त्र सांसद एक जना छन् ।