निर्वाचन आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएका छौं : ओली पक्ष

होमल्याण्ड खबर

२०७७ माघ १२ गते, सोमबार १४:४९ मा प्रकाशित

निर्वाचन आयोगले आइतबार गरेको निर्णयलाई प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री समेत रहेका ओली पक्षका नेता ईश्वर पोखरेलले आयोगको निर्णयलाई सकारात्मक रुपमा लिएको बताए ।

आफूहरुले पार्टी विभाजन नभएको बताईरहेको उनको भनाई छ । ‘निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौ, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ उनले भने । आयोगले पुस ५ यता विभाजित रुपमा गतिबिधि गर्दै आएका नेकपाका दुवै पक्षले गरेका कुनै पनि निर्णय र कामकारवाहीले मान्यता नपाउने निर्णय गरेको थियो ।

आयोगको सो निर्णयअनुसार ओली पक्षले मनोनित गरेका केन्द्रीय सदस्यहरुले मान्यता नपाउने भएको छ। ती मनोनित सदस्यहरुबारे अब के हुन्छ भन्ने प्रश्नमा पोखरेलले ‘त्यो राजनीतिक निर्णय हो, त्यसलाई राजनीतिकरुपमै यथोचित व्यवस्थापन गरिन्छ।’ पार्टीमा अल्पमतमा परेका ओलीले केन्द्रीय कमिटीमा आफूपक्षधरहरुलाई मनोनित गरेका थिए ।