निर्वाचन आयोगले आज नेकपाका दुबै समूहसँग छलफल गर्दै

होमल्याण्ड खबर

२०७७ माघ १६ गते, शुक्रबार १०:५८ मा प्रकाशित

निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहसँग आज छलफल गर्दैछ ।

आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी निर्वाचनसम्बन्धी छलफलका लागि आज बिहान साढे ११ बजे बहादुर भवनस्थित कार्यालयमा बोलाएको हो ।

आयोगले दुवै समूहका अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५–५ जनालाई बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

आगामी निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने समय आउन लागेकाले त्यस विषयमा छलफल गर्न लागेको प्रवक्ता श्रेष्ठले बताए ।

त्यस्तै निर्वाचनसम्बन्धी कानुनमाथि छलफल र निर्वाचनको तयारीका विषयमा पनि छलफल हुने उनको भनाइ छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । आयोगले भने नेकपाका दुबै समूहले  गरेको पदाधिकारी परिवर्तनको निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो ।