रुस अघिल्लो चरणमा प्रवेश

होमल्याण्ड खबर

२०७५ असार ६ गते, बुधबार ०४:४० मा प्रकाशित

आयोजक रुससँग पराजित भएपछि इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस भने ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा रुसले इजिप्टलाई ३–१ गोल अन्तरले हरायो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा इजिप्टको आत्मघाती गोलबाट रुसले अग्रता लिएको थियो । ४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए ।
त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई २–० को अवस्थामा र्पुयाए । त्यसको तीन मिनेटपछि अर्थात ६२ औं मिनेटमा डेइवाले अर्को गोल गरे र, रुसले ३–० को अग्रता लियो । ७३ औं मिनेटमा इजिप्टले पेनाल्टीमार्फत् एक गोल फर्कायो । इजिप्टका लागि चर्चित स्ट्राइकर मोहम्मद सलाहले गोल गरे ।
यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५–० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।