प्रचण्ड–नेपाल समूह आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जाँदै

होमल्याण्ड खबर

२०७७ माघ २० गते, मंगलवार ११:२४ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले दलको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग जाने भएको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले आफ्नो पक्षको आधिकारिकता आयोगमा दाबी गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

निर्वाचन आयोगसँग छलफल गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले त्यसबारे पहल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड–माधव समूहले गरेको छ । बहुमत केन्द्रीय सदस्यहरु आफूसँगै रहेको भन्दै प्रचण्ड(माधव समूहले आफूहरुले नै आधिकारिकता पाउनुपर्ने दाबी गर्दै आएको छ ।

यसअघि नेकपाको दुईवटै पक्षले आफूलाई आधिकारिक दावी गर्दै आयोगमा निवेदन दिएका थिए । आयोगले भने नेकपाका दुबै समूहले  गरेको पदाधिकारी परिवर्तनको निर्णयलाई मान्यता नदिने निर्णय गरेको थियो।

निर्वाचन आयोगले  निर्वाचनसम्बन्धी छलफलका लागि नेकपाका  केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई छुट्टाछुट्टै पत्र लेखी बोलाएको थियो । छलफलमा नेकपा ओली समूहकाले निर्वाचन आयोगलाई निर्वाचनको तयारीमा निरन्तर अघि बढ्न आग्रह गरेको थियो । आयोगले बोलाएको छलफलमा गएको नेकपाको प्रचण्ड–नेपाल समूहले भने सहभागी हुन नसक्ने भन्दै केही दिनको समय मागेको थियो ।