प्रधानमन्त्री ओलीले डाके संवैधानिक परिषदको बैठक

होमल्याण्ड खबर

२०७७ माघ २० गते, मंगलवार १२:२४ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक डाकेका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेको दुई दिनपछि परिषदको बैठक बोलाइएको हो ।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले साँझ पाँच बजेका लागि बाेलाएकाे संवैधानिक परिषदको बैठकमा विविध विषयमा छलफल हुनेछ ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।