ओली नेतृत्वको वर्तमान सरकार जंगली भयो– प्रचण्ड

होमल्याण्ड खबर

२०७७ माघ २१ गते, बुधबार १५:३८ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले केपी शर्मा ओलीको वर्तमान सरकार जंगली भएको टिप्पणी गरेका छन् । जनयुद्धमा रहँदा आफूहरुलाई जंगली भन्ने गरिएको स्मरण गर्दै वास्तविक जंगली अहिलेको सरकार भएको बताए । बुधबार आयोजित बहिगर्मित जनमुक्ति सेनाहरुको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले नीति, नियम, संविधान नमान्ने वर्तमान सरकार जंगली भएको आरोप लगाए ।

‘हिजो (जनयुद्धका क्रममा) हामी विधिमा थियौं, पद्दतिमा थियौं । विचारमा थियौं, फिलोसोपीमा थियौं । तर केही मान्छेले हामीलाई जंगली भन्थे । जंगली त थिएनौं हामी, जनताको काखमै थियौं,’ प्रचण्डले भने, ‘तर अहिले यहाँ केपी (केपी शर्मा ओली)को नेतृत्वमा जुन सरकार चलेको छ, त्यो चाहिँ जंगली भयो । न संविधान मान्नु छ, न नीति नियम मान्नु छ, न विधि पद्दति मान्नु छ । सबै तोडेर अहिले संवैधानिक निकायमा बडो अवैधानिक तरिकाले बिहान (बुधबार) सपथ ग्रहण गराइयो । जंगली राज शुरु भएको चाहिँ संकेत भएको छ । निरंकुश राज शुरु भएको संकेत भएको छ । त्यसकारण हामीले भोलि (बिहीबार) आम हड्ताल गर्ने भनेर निणर्य गरेका छौं ।’