ओली समूहको आमसभामा तीन लाख मानिस उतार्ने दावी

होमल्याण्ड खबर

२०७७ माघ २३ गते, शुक्रबार १०:२६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओली समुहले दाहाल–नेपाल समुहको विरोधसभाको जवाफ स्वरुप आज काठमाडौंमा गर्न लागेको बृहत आमसभामा तीन लाख मानिस उतार्ने दावी गरेको छ । नारायणहिटी दरबार अगाडि सडकमा आयोजना हुन लागेको आमसभाका लागि नारायणहिटी दरबार अगाडिको सडक खालि गरिएको छ । ओली समूहको यो आमसभामा बाग्मती प्रदेशका सबै जिल्लाका कार्यकर्ताहहरुको सहभागीता हुने उसको दाबी छ । यता नेकपाको ओली समूहले आज हुने जनसभाको तयारी स्वरुप काठमाडौँमा मार्चपास गरेको छ । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।

ओली समुहले माघ २१ गते काठमाडौंमा बाइक र्‍याली निकालेको थियो । आज आमसभा अगाडी विभिन्न स्थानबाट जुलुस निस्कने ओली समुहले जनाएकाे छ । बागबजारबाट सम्पूर्ण सम्पर्क मञ्चका सहभागी, प्रदर्शनीमार्गबाट युवा, विद्यार्थी,खेलकुद महासंघ र प्रेस संगठन लगायत, पेशागत संगठनहरुको जुलुस निस्कनेछ । महेन्द्र सालिकबाट पूर्व जनजाति महासंघका घटक संगठन, घण्टाघरमा मुस्लिम समुदायका सहभागी तथा सुन्धारा क्षेत्रबाट ललितपुर जिल्लाका सहभागीहरुको जुलुस निस्कनेछ । त्यस्तै त्रिपुरेश्वरबाट चितवन, धादिङ र सोही बाटो भएर आउने सबै सहभागी, गौशालाबाट भक्तपुर, माइतीघरबाट दोलखा,रामेछाप, काभ्रे, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाबाट आउनेहरुको जुलुस निस्कनेछ ।

पुतलीसडकबाट सम्पूर्ण जनवर्गीय संगठन, लैनचौरबाट नुवाकोट, रसुवाका सहभागी, सोह्रखुट्टे नयाँ रोडबाट मकवानपुर, भीमफेदीको बाटोबाट आउनेका लागि तोकिएको छ । टेकुबाट निर्वाचन क्षेत्र नम्बर ९ र १०, वसन्तपुरबाट निर्वाचन क्षेत्र नम्बर ८, सोहखुट्टेबाट निर्वाचन क्षेत्र नम्बर ६ र ७,ज्ञानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर ३, ४ र ५ तथा पुरानो बानेश्वरबाट निर्वाचन क्षेत्र नम्बर १, २ का जुलुस निस्कने गरी ठाउँ तोकिएको छ ।