निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले भने- चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउनुहोस्

होमल्याण्ड खबर

२०७७ माघ २७ गते, मंगलवार १४:१३ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यावधि चुनावको तयारी निरन्तर रुपमा अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेका छन् । मंगलबार कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेका ओलीले निर्वाचनको तयारी निरन्तर रुपमा अगाडि बढाउन आयोगका पदाधिकारीहरुलाई आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको तयारीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । ‘प्रधानमन्त्रीज्यूले आयोगले गरिरहेको तयारीका सन्दर्भमा धन्यवाद ज्ञापन गर्नु भएको छ र निर्वाचनको तयारीको कामलाई निरन्तर अगाडि बढाउन आग्रह गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले सञ्चारकर्मीसँग भने । प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनको तयारीका लागि आवश्य पर्ने बजेट तथा बन्दोबस्तीका सामान लगायतका विभिन्न विषयबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराएका थापाले बताए ।

प्रधानमन्त्री ओली उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टीका महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल र नेता सुवासचन्द नेम्वाङसहित आयोगको कार्यालय पुगेका थिए । निर्वाचन आयोगमा ओलीले पार्टी (नेकपा)को विवादबारे छलफल गरे नगरेको विषयमा सोधिएको प्रश्नमा प्रेस सल्लाहकार थापाले प्रधानमन्त्री आज (मंगलबार) निर्वाचन आयोग जानुको उद्देश्य त्यो नभएको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आम चुनाव गर्ने गरी निर्वाचनको मिति घोषणा गरेकी थिइन् ।

प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएको छ । विभाजित नेकपाको एउटा खेमाको नेतृत्व ओली गरेका छन् भने अर्को खेमाको नेतृत्व पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले गरेका छन् । ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आफूहरु आधिकारिक पार्टी भएको दाबी गर्दै निर्वाचन आयोगमा अलग-अलग निवेदन दिएका छन् । निर्वाचन आयोगले यसअघि नेकपाको विवाद र निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न माघ १६ गते ओली र प्रचण्डलाई बोलाएको थियो । उक्त छलफलमा ओलीले आफ्ना प्रतिनिधि पठाएका थिए भने प्रचण्डले आफ्ना प्रतिनिधि पठाएर छलफलको मिति सार्न अनुरोध गरेका थिए । नेकपामा आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री पहिलोपटक (मंगलबार) आयोगको कार्यालय पुगेका हुन् ।