प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा शक्ति प्रदर्शन गर्दै

होमल्याण्ड खबर

२०७७ माघ २८ गते, बुधबार ०८:३३ मा प्रकाशित

प्रतिनिधिसभा विघटनल तथा प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौँमा वृहत शक्ति प्रदर्शन तथा सभाको आयोजना गर्दैछ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि आक्रोशित बनेको सो समूहले दोस्रो चरण अन्तर्गत काठमाडौँमा प्रदर्शनसहित भृकुटीमण्डमा सभाको आयोजना गरेको हो ।

आमसभा तथा शक्ति प्रदर्शनका लागि काठमाडौँ बाहिरबाट पनि हजारौं मानिस आउने प्रचण्ड–नेपाल समूहको आँकलन छ ।

प्रचण्ड–नेपाल समूहले मूल जुलुस सुन्धाराबाट निकाल्ने तयारी गरेको छ । सुन्धाराबाट सुरु हुने सो जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले गर्ने जनाइएको छ ।

प्रचण्ड–नेपाल समूहको केन्द्रीय समितिका अनुसार १२ बजे मूल जुलुस सुरु हुनुअघि काठमाडौँका विभिन्न पाँच स्थानबाट सहायक जुलुस निस्कनेछ । जसअनुसार ललितपुरको पुल्चोकबाट निस्कने जुलुस कुपन्डोल–थापाथली–त्रिपुरेश्वर हुँदै सुन्धारा पुग्नेछ । त्यस जुलुसको नेतृत्व रघुजी पन्त, कृष्णबहादुर महरा, पम्फा भुसाल र प्रमेश हमालले गर्नेछन् ।

त्यस्तै त्रिपुरेश्वरबाट निस्कने जुलुसको नेतृत्व स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, चक्रपाणि खनाल, जनार्दन शर्मा, युवराज ज्ञवाली, मुकन्द न्यौपाने, वर्षमान पुन, र विष्णुपुकार श्रेष्ठलगायतले गर्नेछन् ।

यस्तै अर्को जुलुस माइतीघरबाट निस्कने जनाइएको छ । सो जुलुसको नेतृत्व अमृतकुमार बोहोरा, गणेश शाह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेललगायतका नेताले गर्नेछन् ।
केशरमहलबाट निसक्ने जुलुसको नेतृत्व नेताहरु देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेतलगायतले गर्ने जनाइएको छ ।

जमलबाट निस्कने जुलुसमा लीलामणि पोखरेल, केन्द्रीय कमिटी सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरु, पेसागत संगठन हेर्ने केन्द्रीय सदस्यहरुले गर्ने संघर्ष समितिले जनाएको छ ।

प्रतिनिधिसभा विघटनपछि पनि प्रधानन्त्री ओलीको प्रतिगमन र प्रतिक्रान्तिकारी कदम नरोकिएको, संवैधानिक अंगहरुमा गैरसंवैधानिक र गैरकानुनी नियुक्ति गरेको भन्दै प्रचण्ड–नेपाल समूह झनै आक्रोशित बन्दै गएको छ ।

प्रचण्ड–नेपाल समूहले यही माघ १४ गते पनि काठमाडौँको भृकुटीमण्डमा विरोधसभा आयोजना गरेको थियो ।