४ मंसिर २०८१, मंगलवार
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भोलि फागुन १ गते एउटै मञ्चमा देखिने भएका छन् । जनयुद्ध दिवसको अवसर पारेर भट्टराईद्वारा लिखित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन कार्यक्रममा तत्कालीन माओवादी नेतासहित अन्य नेताहरु एउटै मञ्चमा सहभागी हुन लागेका हुन्।
भोलि शनिबार बालुवाटारको एक पार्टी प्यालेसमा आयोजना गर्न लागिएको सो कार्यक्रममा वक्ताहरुको रुपमा नेकपा अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल, जसपा नेता अशोक राई, डा। मीना पौडेल र डा. अरुण गुप्तोलाई चयन गरिएको छ। तत्कालीन माओवादी पार्टी छाडेर नयाँ शक्ति गठन गरी, संघीय समाजवादी पार्टी हुँदै अहिले जसपाको नेतृत्वमा रहेका भट्टराई र प्रचण्ड एउटै मञ्चमा बिरलै देखिने गर्छन्।
दुवै पक्षले ओलीको कदमविरुद्ध आन्दोलन चर्काउनु पर्नेमा जोड दिँदै आएका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलन चर्काउने वा वैशाखका लागि घोषणा गरिएको चुनावको तयारीमा लाग्ने भन्ने विषयमा नेपाली कांग्रेसको नेतृत्व विभाजित छ। कांग्रेस सभापति शेरबहादुर देउवा त्यसबारे अदालतको फैसलाअनुसार अघि बढ्ने र प्रधानमन्त्रीले घोषणा गरेको चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिइरहेका छन् भने पौडेल ओलीको कदम असंवैधानिक भएको र सो कदमविरुद्ध कुनै अन्यौलविना आन्दोलन चर्काउनुपर्ने अडानमा छन्। प्रतिनिधि सभा विघटनविरुद्ध संयुक्त आन्दोलन गर्न जोड दिँदै आएका भट्टराईद्वारा यहिबेला आफ्नो पुस्तक विमोचनमा गरिएको नेताहरुको चयनलाई पनि अर्थपूर्णरुपमा लिइएको छ।