४ मंसिर २०८१, मंगलवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा आज देशभर विरोध प्रदर्शन गर्दैछ । गत माघ १३ गतेको निर्णयअनुसार नै जिल्ला समितिको आयोजनामा ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागिएको नेपाली कांग्रेसले जनाएको छ । जिल्लामा प्रदर्शनपछि हुने विरोध सभालाई कांग्रेसका शीर्ष नेताले सम्बोधन गर्नेछन् । पूर्व निर्धारित कार्यक्रमअनुसार सभापति शेरबहादुर देउवाले बुटवलमा हुने सभालाई सम्बोधन गर्नेछन् ।
यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल र सहमहामन्त्री प्रकाशशरण महत धादिङ, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री शशांक कोइरालाले दाङको सभालाई सम्बोधन गर्नेछन् । संसद विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेको कांग्रेसले यसअघि पुस १३ देखि माघ २४ गतेसम्मको अवधिमा विरोध प्रदर्शन गरेको थियो ।
आज हुने प्रदर्शनलाई पनि घरघरबाट सहभागी भएर सफल पार्न सभापति देउवाले अपिल गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपा, जनता समाजवादी पार्टीलगायतका दल र नागरिक अगुवाले प्रदर्शन गर्दै आएका छन् । प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले हिजो (आइतबार) चौंथो चरणको आन्दोलन अन्तर्गत २० दिने विरोधका कार्यक्रम घोषणा गरिसकेको छ ।