४ मंसिर २०८१, मंगलवार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभालाई राजनीतिक अस्थिरताको खेल मैदान हुन नदिनका लागि आफूले संसद विघटन गर्नुपरेको दावी गरेका छन् । अन्य सबै विकल्पहरु सकिएपछि आफूले संसद विघटन गरेको उनको भनाइ छ । विघटन नगरेको भए अस्वस्थ राजनीतिक गतिबिधि बढ्ने र राष्ट्रिय राजनीति प्रदूषित हुने भएको हुँदा त्यसबाट मुलुकलाई बचाउन ताजा जनादेशमा जाने विकल्प रोजेको उनको दाबी छ ।
भूकम्पबाट क्षति भएको सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयको पुनर्सबलीकरणपछि उद्घाटन कार्यक्रमपछि आफ्ना धारणा राख्दै प्रधानमन्त्री ओलीले आफ्नै दलका नेताहरुले नेताहरुले सरकार सञ्चालनमा असहयोग गर्नुका साथै समानान्तर सरकार सञ्चालनको प्रयास गरेको आरोप लगाए । उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’
उनले आफू प्रधानमन्त्री भए पनि सरकारका बिभिन्न निकायमा महत्वपूर्ण पदाधिकारी रिक्त हुँदा समेत नियुक्ती गर्न नदिने, सकेसम्म अल्मल्याउने र महत्वपूर्ण कार्यकारी पदहरुमा अनुपयुक्त पात्र अघि सार्ने गरेको बताए ।
‘पदाधिकारी नियुक्ति गर्न नपाउने, संसदमा पुगेका सार्वजनिक सेवासम्बन्धी विधेयकहरु समेत अल्मल्याउने, समानान्तर सरकार सञ्चालन गर्ने प्रयास गरियो,’ प्रधानमन्त्री ओलीले बताए ।