४ मंसिर २०८१, मंगलवार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले सरकार असंवैधानिक बाटोमा अघि बढेको आरोप लगाएका छन् ।
कांग्रेसले साेमबार चितवनमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले असंवैधानिक रुपमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीसँग अदालत डराउन नहुने बताए । सर्वोच्चले पक्षपात र कुनै भय नराखी निर्णय गर्नुपर्ने उनकाे भनाइ थियाे।
‘बिना कुनै पक्षपात, बिना कुनै भय यो अदालतले निर्णय गरोस्, मेरो अदालत यो प्रधानमन्त्रीसँग नडराओस्, अदालतले हिम्मत गरोस्’, थापाले भने, ‘अदालतले संविधानको धारा मात्र हेरोस् ।’ अदालतबाट संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेकाे पनि उनले बताए ।
उनले संविधान उल्लंघनविरद्ध सबै पार्टी एकजुट हुनुपर्ने बताए । ‘हामीले जगै भत्कायौं भने घर कसरी बनाउने? यो संविधान हाम्रा निम्ति जग हो, यहीँ टेकेर घर बनाउने हो’, उनले भने, ‘तर, प्रधानमन्त्री ओलीले त्यही जग भत्काइदिए।’
बहुमत प्राप्त गरेको प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने काम अनधिकृत रहेको र यो अधिकार हाम्रो संविधानले नदिएको उनकाे भनाइ थियाे ।