२७ बैशाख २०८३, आईतवार
प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनभित्रै संयुक्त आन्दोलन हुने दाबी गरेका छन् ।
चितवनमा मंगलबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘संयुक्त आन्दोलनका लागि छलफल चलिरहेको छ। कांग्रेस र जसपाका नेताहरुसँग कुराकानी भइरहेको छ।’


सबैले आ-आफ्नो ठाउँबाट आन्दोलन गरिररहेको बताउँदै संयुक्त गर्ने प्रयासमा रहेको बताएका हुन् ।
‘आन्दोलन भइरहेकै छ, तर यसलाई सकेसम्म संयुक्त गरौं भन्ने प्रयास पनि गरिराखेकै छाैं,’ प्रचण्डले भने, ‘हिजै मात्र शेरबहादुर जीलाई यसलाई संयुक्त बनाऔं भनेर कुरा गरेको छु । रामचन्द्र जी, जसपाका नेताहरुसँग पनि कुरा भएको छ ।’
चुनाव हुने सम्भावना नरहेको उल्लेख गर्दै प्रचण्डले भइहाले पनि त्यो अलोकतान्त्रिक र असंवैधानिक हुने जिकिर गरे ।
संसद विघटनलाई दुष्कर्मको संज्ञा दिँदै उनले अहिले भएको विघटन सदर भए प्रधानमन्त्रीले फेरि पनि संसद विघटन गर्न पाउँछ भन्ने नजिर बस्ने टिप्पणी गरे ।
उनले सर्वाेच्च अदालको संवैधानिक इजलासले प्रतिनिधिसभा पुनःस्थापना गर्ने विश्वास व्यक्त गरे । ‘संसद् पुन:स्थापना हुन्छ । भएन भने के हुन्छ, हाइपोथेसिसमा नजाऊँ,’ उनले भने, ‘यस्तो भए नेपाली जनता चुप लागेर बस्दैन । कतै न कतैबाट आन्दोलनमा जान्छ ।’
दाहालले आफूलाई प्रधानमन्त्री पदको लोभ नभएको पनि बताए । ‘यो भ्रम कसैलाई नपरोस्, प्रचण्डले यो संघर्षको नेतृत्व थालेको प्रधानमन्त्री पाउन हैन,’ उनले भने ।
निर्वाचन आयोगले सूर्य चिह्न कसैलाई नदिने गरेर ‘फ्रिज’ गर्न नपाउने दाहालले बताए । आयोगले पार्टीको बहुमतलाई मान्यता दिने उनको भनाइ छ ।