वरिष्ठ अधिवक्ता कार्कीले भने– संविधान बचाउन अदालतले निर्णय लिनुपर्छ

होमल्याण्ड खबर

२०७७ फाल्गुन ४ गते, मंगलवार १४:३० मा प्रकाशित

संसद विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न बोलाइएको एमीकस क्युरीमा रहेका वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संविधान निर्माण गर्नेहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा आएको बताएका छन् ।

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा राय दिँदै वरिष्ठ अधिवक्ता कार्कीले संविधान बचाउनका लागि अदालतले निणर्य लिनुपर्ने बताए ।

‘श्रीमानहरु अल्मलिनुपर्ने अवस्था नै छैन । जसले संविधान निर्माण गरेका थिए, जसले कार्यान्वयन गर्नुपर्ने हो, उनीहरु नै संविधान संकटमा पर्‍यो भन्दै सडकमा पुगेका छन्,’ वरिष्ठ अधविक्ता कार्कीले भने इजलासमा भने ।

संविधान संकटमा परेका भनेर संविधान निर्माण गर्नेहरु नै सडकमा आएको अवस्थामा संवैधानिक इजलासमा रहेका ५ जना न्यायाधीहरुलाई ठूलो र महत्वपूणर् निणर्य लिने जिम्मेवारी आएको पनि कार्कीले बताए । कानून सबैका लाािग समान हुने भन्दै कार्कीले नियम-कानून मानेर मात्रै सबैले अगाडि बढ्नुपर्ने बताए ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी सुनुवाईअन्तर्गत मंगलबार एमीकस क्युरीका सदस्यहरुले राय दिने क्रम शुरु भएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको इजलासले गरेको फैसला अनुसार नै प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न एमीकस क्युरी गठन गरिएको हो ।

एमीकस क्युरीमा नेपाल बारको तर्फबाट कानून व्यवसायीहरु बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल र विजयकान्त मैनाली तथा सर्वोच्च अदालत बारको तर्फबाट अधिवक्ता पूणर्मान शाक्य र गीता पाठक चयन भएका थिए ।

प्रतिनिधि सभा विघटन खारेजीको माग गर्दै दायर भएकामध्ये १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई भइरहेको छ । जारी सुनुवाईअन्तर्गत पक्ष र विपक्षका कानून व्यवसायी बहस तथा पक्षका कानून व्यवसायीको जवाफी बहस सकिएपछि मंगलबारदेखि एमीकस क्युरीको राय लिन शुरु गरिएको हो ।