प्रहरी भागरथीकाे हत्याराकाे नजिक पुगिसक्याे : गृहमन्त्री बादल

होमल्याण्ड खबर

२०७७ फाल्गुन ४ गते, मंगलवार १७:०१ मा प्रकाशित

गृहमन्त्री रामबहादुर थापा बादलले बैतडीकी भागरथी भट्टकाे बलात्कारपछि हत्या गर्ने दोषी नजिक पुगिसकेको दाबी गरेका छन्।

भागरथी, निर्मला पन्त जस्ता घटनाका दाेषीलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत बार एसोसिएसन र महिला समितिकाे टाेलीसँगकाे भेटमा गृहमन्त्री बादलले यस्ताे दाबी गरेका हुन् ।

घटनाका दोषीलाई छिट्टै कानुनी कठघरामा उभ्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरे । कञ्‍चनपुरकी निर्मला पन्तको जस्तो भट्टको घटना जटिल नरहेको उनकाे भनाइ थियाे ।

उनले विगतबाट पाठ सिकेर अपराध अनुसन्धानलाई टुङ्‍गोमा पुर्‍याउने गरी छानविन प्रक्रिया अघि बढेको जानकारीसमेत दिए ।

महिला हिंसा रोक्न सरकार गम्भीर रहेको दोहोर्‍याउँदै गृहमन्त्री थापाले त्यसैका लागि नेपाल प्रहरीमा महिला सेलको स्थापना गरिएको प्रस्ट्याए।

उनले हिंसा, बलात्कारका घटना हुन नदिन र यस्ता घटना भएमा तत्काल दोषी पहिचान गरी कानुनी कारबाही अघि बढाउन प्रहरीलाई निर्देशन दिइसकेको बताए।

सो क्रममा महिला कानुन व्यवसायीहरूले उक्त घटनाको प्रभावकारी अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्दै मन्त्री थापालाई ज्ञापनपत्रसमेत बुझाएका छन्।