ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छः कमल थापा

होमल्याण्ड खबर

२०७७ फाल्गुन ९ गते, आईतवार १४:३५ मा प्रकाशित

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।

मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग गर्न  राजनीतिक दलसंग आग्रह गरे।

उनले भने, “ निर्चावनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ । निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ । ताजा जनादेश लिन सबै राजनीतिक दल निर्वाचनमा जानुपर्छ  ।”

नेकपालाई सरकार चलाउन जनताले दुई तिहाइको जिम्मेवारी दिए पनि तीन वर्षमा नै प्रतिनिधिसभा विघटन गरेर संवैधानिक सङ्कट आएको उनको भनाइ थियो।

अध्यक्ष थापाले संसद् विघटन सम्बन्धी सर्वोच्च अदालतको फैसला पार्टीलाई स्वीकार्य हुने बताए ।