४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी कमिटी बैठक आज बस्दैछ । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि छलफलका लागि अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आफूपक्षीय स्थायी समितिको बैठक बोलाएका हुन् । बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि भावी रणनीति तय गर्नका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो । पुस ५ पछि नेकपा दुई समूहमा विभाजित भएपछि ओली समूहको यो पहिलो स्थायी कमिटी बैठक हो ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजन भएको थियो । निर्वाचन आयोगले नेकपा विभाजनलाई वैधानिकता दिएको छैन । आयोगमा यो विषय अझै विचाराधिन छ ।
अहिलेकै कानुनका आधारमा नेकपा विभाजन हुन संसदीय दल र पार्टी केन्द्रीय समितिमा ४० प्रतिशत सदस्य हुनुपर्ने प्रावधान छ । यो अवस्थामा छुट्टै पार्टी गठन गरेर अघि बढ्नका लागि दल विभाजनको अध्यादेश जरुरी पर्ने देखिन्छ ।