प्रचण्ड–माधवलाई बादलको अपिल– भदौ २६ को सहमतिमा फर्किनुहोस्

होमल्याण्ड खबर

२०७७ फाल्गुन १७ गते, सोमबार १४:३० मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहका नेता एवम् गृहमन्त्री रामबहादुर थापा (बादल)ले प्रचण्ड–माधव समूह राष्ट्रिय स्वाधिनतालाई अपदस्त गर्ने प्रायसमा लागेको बताएका छन् । पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालप्रति लक्षित गर्दै गृहमन्त्री थापाले भने, ‘एकथरी कमरेडहरु प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव पारित गरी कम्युनिस्ट सरकार गिराउने प्रयासमा रहेका छन् ।’

नेकपाको ओली समूहले सोमबार पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले भने, ‘एकथरी कमरेडहरू कम्फर्टेबल सरकार बनाएर स्वाधिनतालाई अपदस्त गर्न चहान्छन् । यसले राष्ट्रवाद, कम्युनिस्टले पाएको जनताको अभिमतको अपमान गरेको छ ।’

देशको विकासका लागि कम्युनिस्ट पार्टीलाई दुई तिहाई बहुमत दिएको जिकिर गर्दै मन्त्री थापाले अदालतले प्रचण्ड र नेपाललाई सच्चिने मौका समेत दिएको बताए । ‘अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेर अविश्वासको प्रस्ताव अगाडि बढाउनेहरूलाई गल्ती ठानेर सच्चिने मौका दिएको छ,’ मन्त्री थापाले भने ।

अदालतले दिएको अवसरलाई उपयोग गर्दै भदौ २६ को सहमतिमा फर्किन पनि थापाले प्रचण्ड–माधवलाई आग्रह गरे । मन्त्री थापाले भने, ‘तपाईंहरू आत्मालोचना गर्नुस्, भदौ २६ मा फर्किनुहोस् ।’