प्रचण्ड–माधव समूहले ओलीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने

होमल्याण्ड खबर

२०७७ फाल्गुन १७ गते, सोमबार १८:०९ मा प्रकाशित

नेकपाको प्रचण्ड–नेपाल समूहले संसद् विघटन भएकै दिन पुस ५ गते संसद् सचिवालयमा दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव अगाडि नबढाउने भएको छ ।

यस समूहले दर्ता भइसकेको अविश्वास प्रस्ताव अगाडि नबढाई नेपाली कांग्रेस र जनता समाजवादी पार्टीलगायत दलहरूसँग छलफल गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने तयारी गरेको छ ।

प्रचण्ड– नेपाल पक्ष नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले अरू पार्टीहरूसँग छलफल गरेर अविश्वास प्रस्तावबारे अब कसरी अगाडि बढ्ने भन्ने कुराकानी भइरहेको जानकारी दिए ।

शून्य समयको प्रस्तावको कानूनी हैसियतमा प्रश्न उठ्ने र यसलाई अगाडि नबढाउनु नै उपयुक्त हुने भएकाले दर्ता भएको अविश्वास प्रस्ताव अघि नबढाउने बारे उक्त समूहमा छलफल जारी छ । तर दर्ता भएको अविश्वासको प्रस्ताव अघि बढाउने वा नबढाउने भन्ने विषय भने सभामुखको तजबिजमा भर पर्छ ।

संसद सचिवालयमा दर्ता भएको अविश्वास प्रस्ताव के होला? भन्ने चासो व्याप्त भैरहेका बेला प्रचण्ड–नेपाल समूहले अघि नबढाउने तयारी गरेको हाहे । फागुन ११ मा सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र संसद् अधिवेशन बोलाउन परमादेश जारी गरेपछि यसलाई निकै चासोका साथ हेरिएको थियो ।