४ मंसिर २०८१, मंगलवार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक ४ बजेको संसद बैठक अघि सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने नेकपा संसदीय दल प्रमुख सचेत देव गुरुङले जानकारी दिए ।
उनका अनुसार बैठकमा अपरान्ह ४ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तुति हुने रणनीतिबारे छलफल हुने बताइएको छ ।
शुक्रबार बसेको दलको बैठकमा ओलीले राजीनामा नदिए आइतबार अविश्वास प्रस्ताव दर्ता गर्नेबारे छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने या नगर्नेबारे बैठकमा निर्णय लिने तयारी गरिएको स्रोतको दावी छ ।
तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने बारे अधिकारिक निर्णय नगर्दा प्रचण्ड माधव पक्ष समस्यामा परेको छ ।
आफू मिले मात्र नेकपाको कुनै पक्षको बहुमत पुग्ने भएपछि नेपाली कांग्रेसले पर्ख र हेरको रणनीति अख्तियार गरेको छ ।