प्रतिनिधिसभा बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७७ फाल्गुन २६ गते, बुधबार १०:४४ मा प्रकाशित

संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुस ५ गते विघटन गरेको प्रतिनिधिसभा सर्वोच्चको फैसलाले पुनःस्थापित भएसँगै आइतबारबाट सुरु भएको हो । पहिलो दिनको बैठकमा सरकारले ल्याएका विधेयक अवैधानिक रहेको बन्दै प्रतिपक्ष दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका सांसदहरुले अवरोध गरेपछि स्थगित भएको थियो ।

आजको बैठकमा पनि विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । कांग्रेसले सरकारले संसद विघटनपछि असंवैधानिक ढंगबाट ल्याएका विधेयकहरु संसदमा पेश हुनै नदिने अडान राख्दै आएको छ । सो दिनको बैठक तत्कालीन नेकपाको प्रचण्ड–नेपाल समूहले वहिष्कार गरेको थियो ।

नेकपाको नाम सम्बन्धी सर्वोच्चको पछिल्लो फैसलासँगै एकता औपचारिक रुपमा भंग भएपछि नेकपाका सांसदहरु आजबाट पूर्ववत एमाले र माओवादी केन्द्रका रुपमा संसदमा जाने छन् ।