सिरहा मालपोत कार्यालयमा भएको बम विस्फोटमा ‘गोइत समूहको संलग्नता’

होमल्याण्ड खबर

२०७७ चैत्र १ गते, आईतवार १५:१० मा प्रकाशित

सिरहाको लहानस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा बम विस्फोट भएको ठाउँ नजिकै तराईं जनतान्त्रिक मुक्ति मोर्चा (गोइत समूह)को पर्चा भेटिएको छ । बम विस्फोट भएको ठाउँमा गोइत समूहको पर्चा भेटिए पछि बम विस्फोटमा सोही समूहको हात हुनसक्ने प्रहरीको आशंका छन् ।

आइतबार दिउँसो मालपोत कार्यालय सिरहामा बम विस्फोट हुँदा ७ जना घाइते भएका छन् । घाइतेमध्ये मालपोत कार्यालयमा काम विशेषले आएका दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शालिग्राम शर्माले जानकारी दिए ।

घाइते हुनेमा मालपोत कार्यालयका २ जना कर्मचारी समेत छन् । सामान्य घाइतेको लहाननस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते भण्डारीलाई भने थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ ।