प्रतिनिधिसभा बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७७ चैत्र ३ गते, मंगलवार ११:०७ मा प्रकाशित

संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते विघटन गरेको प्रतिनिधिसभालाई सर्वोच्च अदालते बदर गर्दै पुनःस्थापना गरिदिएपछि बस्न लागेको यो तेस्रो बैठक हो ।

सरकारले अध्यादेश पेश गर्नेलगायत विजनेश नदिएकोले आजको बैठक पनि लामो समय चल्ने स्थिति रहेको छैन ।

संसद सचिवालयले निकालेको कार्यसूचीमा शोक प्रस्ताव र सभामुख अनुपस्थित रहेका बेला बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने विषय मात्रै समावेश छ । तत्कालीन संविधान सभाका सदस्य दिनेशचन्द्र यादवको मृत्यु भएकोमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिनिधिसभा बैठकको तयारीका लागि हिजो कार्यव्यवस्था परामर्श समितिको बैठक बसे पनि एजेन्डा दिन सकेन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बिजनेश नदिएर सरकारले नै संसदलाई गतिशील र प्रभावकारी बनाउन नचाहेको आरोप लगाएको छ ।

यसअघि प्रतिनिधिसभाको कार्यसूची तय गर्ने कार्यव्यवस्था परामर्श समितिको बैठक नबसी फागुन २३ र २६ गते बैठक बसेको थियो । पहिलो बैठकमा यसबीचमा सरकारले जारी गरेका अध्यादेश टेबुल गर्नुपर्ने थियो । तर, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल पक्षले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा असन्तुष्टि राख्दै बैठक बहिष्कार गरेको थियो । प्रतिपक्षी दलहरू कांग्रेस र जसपाले वेल घेराउ गरेका थिए ।

संसद् बैठकमा विवादित संवैधानिक परिषद्सम्बन्धी अध्यादेश टेबुल भएको थियो भने अन्य अध्यादेश टेबुल हुन सकेका थिएनन् । २६ गतेको बैठक प्रतिनिधिसभा सदस्य र पूर्वसांसदहरूको मृत्युमा शोक प्रस्ताव पारित गरेर आज बस्ने गरी स्थगित भएको थियो ।