संसदमा प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानी बोर्ड खारेज गर्न माग

होमल्याण्ड खबर

२०७५ असार १२ गते, मंगलवार ०८:१७ मा प्रकाशित

प्रधानमन्त्रीको नेतृत्वमा रहेको लगानी बोर्ड खारेज गर्न संसदमा माग उठेको छ । नेपाल मजदुर किसान पार्टीले लगानी बोर्ड नेपाल खारेज गर्न सरकारसँग माग गरेको हो ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेस सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको लगानी बोर्ड नेपाल खारेज माग गरेका छन् ।
विदेशीलाई श्रम र मुनाफा दिने नियतका साथ काम गरिरहेको लगानी बोर्ड नेपालका लागि उपयुक्त नदेखिएकाले तत्काल खारेज गर्न माग गर्नु परेको सांसद सुवालले जनाएका छन् ।
मंगलबार प्रतिनिधिसभामा विनियोजन बजेट अन्तरगत विभिन्न शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले लगानी बोर्डले स्वदेशी लगानीलाई भन्दा विदेशी लगानीलाई जोड दिने गरेकोमा पनि आपत्ति जनाए ।
सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सार्वजनिक निर्माण तथा अनुगमनको काममा पूर्णतः असफल भएको दावी गरे । उनले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले भ्रष्टाचार अन्त्य गरेर मुलुकमा सुशासन बहाल गर्न नसकेको गम्भिर आरोप समेत लगाए ।
सांसद सुवालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय मातहत रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य पुष्टि गरेर देखाउन पनि प्रधानमन्त्री केपी ओलीलाई चुनौति दिएका छन् ।
पुनर्निर्माणको काम १० प्रतिशत पनि सम्पन्न नगर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको औचित्य नरहेको उनले बताए ।