एमाले संसदीय बोर्डमा झलनाथ खनाल र माधव नेपाल पनि मनोनित

होमल्याण्ड खबर

२०७७ चैत्र ५ गते, बिहीबार १४:१२ मा प्रकाशित

नेकपा एमालेको संसदीय बोर्डमा माधव नेपाल र झलनाथ खनाल पनि मनोनित भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको दलको बैठकले २७ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ ।

बोर्डको प्रमुखमा दलका नेतासमेत रहेका अध्यक्ष केपी ओली छन् ।

बोर्ड सदस्यहरुमा बैठकमा सहभागी नभएका माधवकुमार नेपाल, झलनाथ खनाल पनि रहेका छन् । त्यस्तै संसदीय उपनेता सुवास नेम्वाङ पनि सदस्य रहेका छन् ।

शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनित भएका छन् ।

बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेका छन् ।

सांसदले अनुशासन उल्लंघन गरेर कारबाही अघि बढाउनुपरेमा बोर्डले निर्णय गर्नुपर्ने वैधानिक व्यवस्था रहेकाले बैठकबाट बोर्ड गठन गरिएको छ ।