१३ मंसिर २०८१, बिहीबार
नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज बिहान साढे ९ बजे थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेर जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई यस्तो जानकारी गराएका हुन्।
पोखरेललाई नर्भिक अस्पतालका चिकित्सकहरुले जोशीको पछिल्लो स्वास्थ्य अवस्थाको विषयमा जानकारी गराएका थिए ।
गत फागुन १३ गते राति स्वास्थ्यमा समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरमा परीक्षण गर्दा उनको मस्तिष्कमा रगत जमेको पाइएपछि तत्काल नर्भिक अस्पतालमा भर्ना गरी टाउकोको शल्यक्रिया गरिएको थियो । उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको थियो।
केही दिनको उपचारपछि उनको स्वास्थ्यमा सुधार आएपछि भेन्टिलेटरको सपोर्ट हटाइएको थियो । तर स्वस्थ्य अवस्था फेरि बिग्रिएपछि उनलाई पुनः भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।
जोशीको अहिलेको अवस्था गम्भीर रहेको र उनी कोमामा रहेको उपचारमा संलग्न वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले बताए ।