प्रधानमन्त्री ओलीसँग भेटको पर्खाइमा सभामुख

होमल्याण्ड खबर

२०७७ चैत्र ९ गते, सोमबार १६:०८ मा प्रकाशित

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा पुनर्स्थापना भएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्नेमा प्रतिनिधि सभामा अवरोध भएकोले प्रस्तुत हुन नसकेको बताएका छन्।

सोमबार पत्रकारहरुसँग कुरा गर्दै सभामुख सापकोटाले ती अध्यादेश टेबुल गर्न नियम निलम्बन गरेर अगाडि बढ्नेबारे दलहरूबीच छलफल चलिरहेको बताए।

संसद्‌मा आएका अध्यादेश आवश्यक रहेको र तिनलाई अगाडि बढाउन संसद् तयार रहेको भन्दै दलहरूबीच छलफल भइरहेको र त्यसबारे छिट्टै निष्कर्ष निस्किने उनले बताए।

पहिलो बैठकमा अध्यादेश प्रस्तुत गर्न नपाएपछि सरकारले त्यसपछि टेबल नै गरेको छैन। उनले संसद्लाई प्रभावकारीरूपमा सञ्चालन गर्ने र सरकारले ल्याएका बिजनेस अगाडि बढाउनेबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्ने र त्यसका लागि समय मागेको बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई बंगलादेश भ्रमणका लागि बिदाइ गर्न सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा प्रधानमन्त्री ओलीसँग भएको भेटका क्रममा छलफलका लागि  समय मागेको उनको भनाई छ।