ओलीले राजतन्त्रसंग साँठगाँठ गरे विफल बनाउँछौं : माधव नेपाल

होमल्याण्ड खबर

२०७७ चैत्र १० गते, मंगलवार १६:४७ मा प्रकाशित

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रसंग साँठगाँठ गरेको आरोप लगाएका छन् ।

मंगलबार विद्यार्थीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता नेपालले केपी ओलीले जतिसुकै साँठगाँठ गरे पनि राजतन्त्र फर्किन नदिने दाबी गरे ।

एक फरक प्रसंगमा कुराकानी गर्दै उनले  पार्टीले सोधेको स्पष्टी करणलाई ‘कथित’ रहेको भन्दै सामना गर्न तयार रहेको बताए । कथित स्पष्टीकरणबाट आफूहरु  नतर्सिने उनको भनाई छ ।

पार्टी अनुशासनविपरीत काम गरेको भन्दै ७ चैतमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित चारजना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

उक्त निर्णय अनुसार सोमबार नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई बेग्ला–बेग्लै स्पष्टीकरण पत्र पठाइएको छ ।

पछिल्लो समय एमालेभित्र ओली र नेपाल—खनाल समूहबीच बढ्दै गएको आन्तरिक द्धन्दको कारण पार्टी फुटतर्फ उन्मुख भएको छ ।