५ मंसिर २०८१, बुधबार
नेकपा एमाले प्रदेश १ को संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको छ ।
मुख्यमन्त्री तथा संसदीय दलका नेता राईको अध्यक्षतामा आज बसेको दलको बैठकले राईविरुद्ध प्रदेशसभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गर्ने सांसदलाई एक साताभित्र हस्ताक्षर फिर्ता गर्न लिखित निर्देशन दिएको हो ।
बैठकमा नेपाल समूहका प्रदेशसभा सदस्यहरु पनि सहभागी भएका थिए । अविश्वासको प्रस्ताव फिर्ता लिने जानकारी गराउन आफ्नो पक्षका दुई जना सांसद बैठकमा सहभागी भएको नेपाल पक्षका नेताहरुले बताएका छन् । नेपाल समूहका सांसदहरु लचक देखिएकाले मुख्यमन्त्री राईको पद जोगिने देखिएको छ ।
बैठकले दलको विधान पारित गर्दै दलको नेताको नेतृत्वमा संसदीय बोर्ड गठन गरेको छ । बैठकले संसदीय बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतकसहित काजीमान कागते, आशारत्न जवेगु, लीलाबल्लभ अधिकारी, तुलसी न्यौपाने, विमल कार्की, यशोदा अधिकारी, जसमाया गजमेर, ज्ञानेश्वर राजवंशी, बिर्ख प्रधान, अम्बिका थापा र लिलम बस्नेतलगायतलाई मनोनयन गरेको छ ।
बैठकले अविश्वास प्रस्तावबाट नाम फिर्ता नलिने सांसदलाई विधान बमोजिम कार्वाही हुने बताइएको छ ।
मुख्यमन्त्री राईले मन्त्रीबाट बर्खास्त गरेका इन्द्र आंग्बोसहित तत्कालिन नेकपाका ३७ सदस्यले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । ९३ सदस्यीय प्रदेश सभामा एमालेका ५१ सांसद छन् । तीमध्ये माधव समूहका २१ जनाले अविश्वासको प्रस्तावमा हस्तााक्षर गरेका छन् ।