५ मंसिर २०८१, बुधबार
नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
कलंकीस्थित मेघा पार्टी प्यालेसमा सुरु भएको बैठकमा पार्टीको पछिल्लो विवादका विषयमा छलफल हुने बताइएको छ ।
आगामी दिनमा पार्टीलाई विधान, नियमावलीअनुरुप चल्न दबाब पुगोस भन्ने उद्देश्यले बैठक बोलाइएको सो समूको दाबी छ । नेपाल–खनाल समूहले पार्टी अध्यक्ष केपी ओलीलाई फागुन २३ गते एमाले ब्युँताउने सर्वोच्चको निर्णयअनुरुप २०७५ साल जेठ २ गतेको अवस्थामा फर्कन दबाब दिनका लागि बैठक राखेको जनाएको छ ।
सो समूहका नेताहरु २०७५ साल जेठ २ कै अवस्थामा गए सबै विवाद समाधान हुने बताउँछन् । तर, ओलीपक्ष भने उक्त निर्णय फिर्ता गर्ने पक्षमा रहेको छैन । दुवै पक्षका आ–आफ्ना अडानले विवाद उत्कर्षमा पुगेको छ ।
फागुन २८ गते ओलीपक्षले एकलौटी रुपमा केन्द्रीय कमिटी बैठक राखेर केन्द्रीय कमिटी विस्तार, दशौं महाधिवेशनको मिति तयलगायतका विषयमा निर्णय गरेको थियो । राजनीतिक, वैचारिक रुपमा विभाजनको रेखा कोरिसकेका वरिष्ठ नेता खनाल र नेपाल समूहले सांगठनिक आधार समेत बनाइरहेको छ ।
यसैबीच नेपाल समूहले आफू पक्षीय केन्द्रीय सदस्य, स्थायी कमिटी सदस्यका समेत सुझाव समेटेर अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीलाई नै स्पष्टीकरणको प्रतिप्रश्न गर्दै बिहीबार जवाफ दिएको छ ।
गत शनिबार बालुवाटारमा बसेको एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठकले नेता नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण माग्ने निर्णय अनुसार सोमबार पत्र पठाएको थियो ।