स्थायी समिति बैठक बोलाउने माओवादी केन्द्रको तयारी

होमल्याण्ड खबर

२०७७ चैत्र १८ गते, बुधबार १७:०६ मा प्रकाशित

नेकपा माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिने निर्णय गर्नका लागि भोलि (बिहीबार) स्थायी कमिटी बैठक बोलाउने तयारी गरेको छ। आज बोलाउने भनिएको बैठक भोलि राख्ने तयारी गरिएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

सरकारको समर्थन पनि गर्ने र विरोध पनि गर्ने भनेर माओवादी केन्द्रको आलोचना भइरहेको छ। माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सरकारलाई दिएको समर्थन एक दुई दिनमै फिर्ता लिने तयारी छ। शीर्ष नेताको बैठक बसेर समर्थन फिर्ता लिनेबारे टुंगोमा पुगिने प्रवक्ता श्रेष्ठको भनाइ छ।

समर्थन फिर्ता लिने विषयमा आज बिहान पनि एक चरण छलफल भएको थियो। सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजावादीका नेता डा. बाबुराम भट्टराईलाई भेटेका थिए। स्रोतकाअनुसार देउवा र डा. भट्टराईसँग्को छलफल सकारात्मक भएपछि माओवादी समर्थन फिर्ता लिने तयारीमा लागेको हो।