५ मंसिर २०८१, बुधबार
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक स्थगित भएको हो । माओवादी केन्द्रका केही नेताहरु उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको बताइएको छ ।
आजको बैठकमा केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार गठनका बारेमा छलफल हुने बताइएको थियो ।
यस्तै, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच नयाँ सत्तासमिकरणका लागि भइरहेका अनौपचारिक समझदारीबारे अध्यक्ष पुष्पकमल दाहालले बैठकमा जानकारी गराउने तयारी भएको थियो ।
नेपाली कांग्रेसले गत शुक्रबारको केन्द्रीय कमिटी बैठकमार्फत प्रधानमन्त्री ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरेपछि उत्साही बनेको माओवादी केन्द्र समर्थन फिर्ताको तयारीमा पुगेको छ । कांग्रेसको निर्णयसँगै अध्यक्ष दाहालले कांग्रेस र जसपाका नेताहरुसँगको संवादलाई जारी राखेका छन् ।
जसपा संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा विघटन गर्ने ओलीको कदम प्रतिगामी भएको भन्दै नयाँ सरकार बनाउने पक्षमा छन् भने अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो जसले आफ्ना माग पूरा गर्छ उसैसँग सहकार्य गर्ने मनस्थितिमा रहेका छन् । उनीहरु प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा रहेका छन् ।