रामचन्द्र पौडेल र महन्थ ठाकुरबीच भेटवार्ता

होमल्याण्ड खबर

२०७७ चैत्र २२ गते, आईतवार १४:४४ मा प्रकाशित

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। अध्यक्ष ठाकुरलाई भेट्न नेता पौडेल आज बिहान उनको निवास हात्तीवनमा पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा भेटवार्ता भएको थियो।

शुक्रबार बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र सरकार निर्माणका लागि अग्रसरता लिने निर्णय लिएपछि पौडेलले आज ठाकुरसँग भेटवार्ता गरेका हुन् ।

केही दिनअघि मात्रै नेता पौडेलले पार्टी केन्द्रीय कार्यालय सानेपामा उपसभापति विमलेन्द्र निधिलाई  शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न तयार बनाउनुस् म राजेन्द्र महतोलगायत जसपाका नेताहरूसँग कुराकानी गर्छु भनेका थिए ।

यस्तै पौडेलले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिए संसदमा अविश्वासको प्रस्ताव लगेर ह​हटाउने बताएका थिए ।  आजको भेटमा ठाकुरले कांग्रेसको निर्णयप्रति असन्तुष्टि जनाएको स्रोतले जनाएको छ ।

गठबन्धनको सरकारका लागि तीन दलसँग बसेर निर्णय लिनुनपर्ने भन्दै अध्यक्ष ठाकुरले कांग्रेसले गठबन्धनको सरकार बनाउने भनेर आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

ओली सरकार विस्थापनका लागि कांग्रेस, माओवादी केन्द्र र जसपाबीच गठबन्धन जरुरी छ । सोही कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यक्ष ठाकुरसँग भेटवार्ता गर्न खोजीरहेका छन् ।