माओवादी परित्याग गरी मन्त्री बनेका आङ्बुहाङको सासंद पद खोसियो

होमल्याण्ड खबर

२०७७ चैत्र २३ गते, सोमबार १२:४७ मा प्रकाशित

पार्टी परित्याग गर्दै प्रदेश १ सरकारको मन्त्री बनेका नेकपा माओवादी केन्द्रका सभासद टंक आङ्बुहाङलाई पार्टीले पदमुक्त गरेको छ। एमाले प्रदेश गर्दै मन्त्री बनेको दश दिनपछि आङ्बुहाङलाई माओवादी केन्द्रले सांसदबाट पदमुक्त गरेको हो।

गत चैत १७ गते नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलले प्रदेशसभा सदस्य आङ्बुहाङलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तोकिएको समयभित्र स्पष्टीकरण नदिएकाले केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो। साथै आंङ्बुहाङलाई पार्टीले साधारण सदस्यता समेत नरहने गरी निष्काशन गरेको छ।

आङ्बुहाङ गत चैत १३ गते प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्री बनेका थिए।

एमाले प्रवेश गर्दै मन्त्री बनेका आङ्बुहाङको कार्यकाल अब ६ महिनाको मात्रै हुनेछ । गैरसांसदले ६ महिना मात्रै मन्त्री बन्न पाउने प्रावधान छ । तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन्।