प्रतिनिधिसभा बैठकमा सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस नहुने

होमल्याण्ड खबर

२०७७ चैत्र २६ गते, बिहीबार १३:२६ मा प्रकाशित

 संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । संसद भवन नयाँबानेश्वरमा आज बस्ने बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस नहुने भएको छ ।

प्रतिनिधिसभा बैठकअघि संसद भवन मै बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि उक्त विद्येयक कार्यसूचीबाट हटाइएको छ ।

सत्तारुढ दल नेकपा एमालेका प्रतिनिधिले भने अन्तिमसम्म पनि सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस गर्नैपर्ने अडान लिएका थिए ।

गत पुस १३ गते संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो । समितिबाट विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले विज्ञप्ती निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए ।